हतियार देखाएर रकम लुटने समूहका ४ पक्राउ
9:47 AM
माघ २४, २०७३- हतियारको बलमा आतंक मच्चाउँदै लुटपाट गर्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ६ जनामध्ये ४ पक्राउ परेका हुन् ।
मोरङ र सुनसरी जिल्लाका विभिन्न घटनामा संलग्न ती युवा पक्राउ परेपछि स्थानीयले राहत महसुस गरेका छन् । कटहरी ४ का कार्तिक कामत, टंकिसिनबारी ७ का श्रवण सरदार, नोचा ३ का सतन पासमान र सुनसरी इटहरी १३ खनारका राजेश चौधरी पक्राउ परेका हुन् । सोही समूहका करिस्मा सरदार र सुवालाल सरदार फरार छन् ।
उनीहरूले ६ जनाको समूह बनाएर हतियारको बलमा लुट मच्चाउँदै आएको प्रहरीले जनायो । पछिल्लोपटक माघ १० गते कर्सियास्थित जीवन विकास समाजका फिल्ड सहायक घनश्याम सरदारको तिघ्रामा गोली हानेर २ लाख बढीभन्दा रकम लुटेका थिए । कामतलाई भाग्ने क्रममा त्यही दिन पक्राउ गरिएको थियो ।
उनले नै समूहमा ६ जना रहेको बताएका हुन् । यस्तै सोही समूहले पुस २३ गते सुनसरी, इटहरी १९ एकम्बास्थित झुम्का नहर छेउमा स्थानीय भविशेष चौधरीलाई गोली हानी घाइते बनाएको थियो । अर्को घटनामा पुस १८ गते विराटनगर १९ रानीस्थित पारिजात चोकमा स्थानीय बटेशकुमार साहलाई गोली हानेर ४ लाख लुटेको प्रहरीले बतायो ।
कार्तिक ८ गते कोसी हरैचा ४ स्थित विराटनगर–विराटचोक सडक खण्डमा को१३प ९६०६ नम्बरको स्कुटी रोकेर १२ लाख ६५ हजार ५ सय बराबरको नगद र सुनचाँदीका गहना लुटेको समूहले असोज २८ गते बैजनाथपुर ४ स्थित घिनाघाट सडक खण्डमा भौडाहा १ का राजेश कुमार राय अमातको मोटरसाइकल रोकेर हतियार देखाई २ लाख ४९ हजार मूल्य बराबरको मोबाइल, सुनको गहना र नगद लुटेको आरोप छ । ‘लुटपाटमा जाँदा उनीहरूले मोटरसाइकल प्रयोग गर्थे,’ एक प्रहरी अधिकृतले भने, ‘आपराधिक घटनापछि तत्काल नम्बर प्लेट परिवर्तन गरेर झुक्याउँदै आएका थिए ।’
आपराधिक गतिविधिले मोरङ र सुनसरीका स्थानीय त्रस्त थिए । उनीहरू एक्लै बाटो हिँड्न समेत डराउथे । समूहका सबैजना पक्राउ परेपछि अहिले राहत महसुस गरेका छन् । प्रहरीका लागि समेत टाउको दुखाइ भएपछि पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरिराज घिमिरेले क्षेत्र र जिल्लाको संयुक्त टोली बनाएर खोजबिनमा तीव्रता दिएका थिए ।
माघ १७ गते सुनसरीको खनारमा उक्त समूहसँग मुठभेड भएको थियो । त्यही क्रममा मुख्य तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भयो । त्यसअघि नै कामत पक्राउ परिसकेका थिए । अन्यको पनि पहिचान भइसकेको र खोजतलास तीव्र पारेको मोरङका प्रहरी प्रमुख एसपी संदिप भण्डारीले बताए । ‘गोली हानेर लुटने गिरोह पक्राउसँगै सर्वसाधारणको निस्फिक्री भएर हिँड्न सक्ने वातावरण यथावत् कायम राख्न सफल भएका छौं,’ उनले भने ।
कल बाइपास गर्ने समातिए
यस्तै मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को सहयोगमा कल बाइपासमा संलग्न एक जनालाई उपकरणसहित पक्राउ गरेको छ । विराटनगर १ स्थित रितु अधिकारीको घर भाडामा लिएर भिओआइपी गेटवे सञ्चालन गरी कल बाइपास गर्दै आएका दोलखा, भडेपस ३ का २३ वर्षीय बाबुराम थोकर तामाङलाई पक्राउ परेका हुन् ।
यस्तै मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को सहयोगमा कल बाइपासमा संलग्न एक जनालाई उपकरणसहित पक्राउ गरेको छ । विराटनगर १ स्थित रितु अधिकारीको घर भाडामा लिएर भिओआइपी गेटवे सञ्चालन गरी कल बाइपास गर्दै आएका दोलखा, भडेपस ३ का २३ वर्षीय बाबुराम थोकर तामाङलाई पक्राउ परेका हुन् ।
उक्त घरबाट ६४ पोर्टको भिओआइपी गेटवे २ थान, ल्यापटप २ थान, नेपाल टेलिकमको १ सय ५५ र एनसेलको १ थान सिमकार्ड, मोबाइल, इन्भर्टरलगायतका सामान प्रहरीले बरामद गरेको छ । तामाङलाई दूरसञ्चार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी भण्डारीले बताए ।

0 comments