विद्यार्थी भटाभट वेहोस हुन थालेपछि...

5:47 PM

अमरजित पुनमगर, रोल्पा, १ फागुन, रोल्पाको एक विद्यालयमा विद्यार्थी वेहोस हुन थालेपछि त्रास फैलिएको छ । नगरपालिका भित्र पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय खुमेल रोल्पामा विद्यार्थी बेहोस हुन थालेपछि एक प्रकारको आतङ्क नै सृजना भएको छ ।  यस्तो समस्या आएपछि अभिभावक समेत त्रसित बनेका छन् भने शिक्षक पनि चिन्तित छन् । अहिले कक्षा ५ मा अध्ययन गरिरहेका छात्रामा बेहोस हुने लक्षण देखिएको हो । शुक्रबार मात्रै ५ जना विद्यार्थी बेहोस भएका थिए । सुरुमा हाई आउने, पेट दुख्यो भन्ने, ढाड दुख्ने, मुटु खाने, छटपटाउने जस्ता लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर थापाले बताए । पुस महिनामा कक्षा १० का विद्यार्थीमा देखिएको यो लक्षण अहिले अरु विद्यार्थीमा पनि देखिन थालेको प्र.अ. थापाले बताए । स्वास्थ्य संस्थामा लगे पनि सन्चो नभएपछि धामी झाँक्री समेत गरिएको उनको भनाई छ । कक्षा ५ का विद्यार्थीमा २ पटक यस्तो समस्या देखिएको थापाले बताए ।  कक्षा ५ मा अध्ययनरत ९ देखि १४ वर्ष उमेरका छात्राहरुमा यो रोग देखिने गरेको छ । पौष २० गतेदेखि देखिएको यो लक्षण बेला बेलामा देखिँदै आएको विद्यालले बताएको छ । सुरुमा एक जनालाई हुने र त्यसलाई हेरेपछि बिस्तारै अरुलाई पनि यस्तो हुने गरेको बताइएको छ । यस्तो समस्या देखापरेपछि नजिकको स्वास्थ्य संस्थामा पनि लगेर उपचार गरिएको थियो । प्राथमिक उपचारपछि केही दिन सन्चो भएपनि फेरी दोहोरिने गरेको शिक्षकहरुले बताएका छन् । विद्यालयमा आउँदा यस्तो समस्या देखिने तर विद्यालयबाट बाहिर निस्केपछि आफैँ सन्चो हुने यो रोगले अभिभावक, शिक्षकहरु पनि आश्चर्य चकित भएका छन् । स्वास्थ्य चँौकीका इन्चार्ज दलबहादुर नेपालीका अनुसार यो मास हिस्टोरिया हुन सक्ने बताए । किशोर अवस्थामा देखिने लक्षण भएपनि अन्य अवस्थामा पनि यो लक्षण देखिने गरेको स्वास्थ्य इन्चार्ज नेपालीले बताउँछन् । मास हिस्टोरिया भएकाले यसको सचेतनामुलक कार्यक्रमहरु गर्नका लागि सुरुवात गर्ने योजनामा रहेको शिक्षक महेन्द्र रोकाले बताए । करिब ६ सय ४२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा यस्तो लक्षण देखिएपछि अन्य विद्यार्थीहरु पनि त्रसित भएका छन् भने अभिभावकहरु पनि गम्भीर देखिएका छन् । लिबाङ नगरपालिका भित्र पर्ने खुमेल वडा नम्बर २ सदरमुकामदेखि करिब ६ कोष टाढा रहेको छ । यस्तै प्रकारको बिरामीको लक्षण यस भन्दा अघि तारामावी बामरुकका विद्यार्थीहरुमा पनि फेला परेको थियो । त्यहाँ २ महिना अघि यस्तै प्रकारको बिरामीका कारण २ दर्जन बढी विद्यार्थीहरु एक्कासी बिरामी परेपछि विद्यालय परिसरमै स्लाईन चढाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाबाट एक टिम खटेको थियो भने खुङ्ग्री गाविसको एक विद्यालयमा पनि यस्तो समस्या देखा परेको थियो । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images