नायिका स्वेता खड्काकाे पहलमा सिन्धुपाल्चोकको माझीगाँउमा बन्ने भयाे एकिकृत बस्ती
6:17 PMमाघ २९, २०७३- ठुलोसिरुबारीको माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र अन्य केही सहयोगी हातबाट माझी गाउँ एकिकृत बस्ती बसाउने अभियान गरिने भएको हो ।
शनिबार ठुलोसिरुबारी माझी गाउामा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् । ‘पहिलो किस्तामा पाएको पचास हजार भत्किएको घडेरी सम्याउँदै सकियो । घर कसरी बनाउनु ?’ सुकुली माझीले भनिन्, ‘आर्थिक अभावमा घर बनाउन सकेको छैनौं ।’
उक्त क्षेत्रका बासिन्दाको जिविकोपार्जनको मुख्य स्रोत भनेको कृषि हो । तर त्यसबा महिनादिन खान पनि खान नपुग्ने भएपछि उनीहरु समस्यामा परेका थिए । हाल सहयोगी हात र अभिनेत्रीको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिइसकेको छ । सरकारले दिने अनुदानले घर बनाउन नपुग्ने भएपछि माझी परिवार अन्योलमा परेका थिए ।
हास्य कलाकार धुर्मुस सुन्तलीले निर्माण गरेको मेलम्ची गिरानचौर सामूहिक एकिकृत बस्तीपछि जिल्लाभर १८ भन्दा बढी एकिकृत बस्ती बन्न थालेका छन् । मेलम्ची बासबारी, ठुलोसिरुवारी माझी गाउँ लगायत विभिन्न स्थानमा एकिकृत बस्तीको अभियान सुरु गरिएको छ । मेलम्चीको बासबारीमा एकसय पचास एकिकृत आवास बनाउने काम सुरु भइसकेको अभियन्ता गणेश तिवारीले जानकारी दिए ।
हप्ता दिन अगाडि मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलले एकिकृत बस्तीको शिलन्यास गरेका थिए ।


0 comments