एनसेल कर विवाद : तिर्ने दायित्व कसको ? स्विडिस टिभी रिपोर्ट भन्छ, 'टेलियासोनेराले तिर्नुपर्छ'

10:58 PM

काठमाडौँ, २८ माघ, यतिबेला एनसेलले तिर्नुपर्ने करोडौँ रुपैयाँ कसरी असुल उपर गर्ने भन्ने तनावमा छन् कर अधिकारीहरु । सन् २००७ मा एनसेलको केही हिस्सा सेयर किनेर नेपाल छिरेको टेलियासोनेरा कम्पनी सन् २०१५ मा मुनाफा कुम्ल्याउँदै लाभ कर नतिरी फर्किएपछि नेपालका कर अधिकारीको पारो बढेको हो । टेलियासोनेराले खरिद गरेको र बिक्री गरेको मूल्यको आधारमा नेपालको कानुनअनुसार लाभकर तिर्नु पर्ने भए पनि सो रकम नतिरी फरार भएपछि अहिले समस्या आएको छ ।  टेलियासोनेराले ८ वर्ष नेपाल बसाईको अवस्थामा आर्जन गरेको मुनाफाको लाभकर अरबौँ रुपैयाँ तिर्नुपर्ने हुन्छ तर अहिले सो रकम कसले तिर्ने भन्ने नै विवादमा छ । टेलियासोनेरा भन्छ, मुनाफा कमाएको छैन । जति आम्दानी भएको थियो त्यति नै मात्रामा नेपालमै छोडेर आएकोले लाभकर तिर्न आफू बाध्य नहुने बताउँदै आएको छ । यता नेपाली कम्पनी एनसेलले मुनाफा जति टेलियासोनेराले लिएर गएको भन्दै आफू करको भागिदार नभएको दाबी छ । टेलियासोनेरासँग सेयर किनेर नेपाल आएको पछिल्लो कम्पनी अक्जिआटा आफू खरिदकर्ता भएकोले मुनाफा र लाभकरको बारेमा आफूलाई थाहा नहुने बताउँछ ।  यी तीन कम्पनीको कारोबारमा नेपालले पाउने अरबौँ रुपैयाँ कर गुम्ने अवस्थामा पुगेको अर्थविद्हरु बताउँछन् । नेपालको करको दायरा, कानुन र कर्मचारीको खराब नियतले अरबौँ कर गुम्न लागेको उनीहरुको आरोप छ ।  यो विषयमा स्विडिस टेलिभिजन एसभिटीले नेपालका कर अधिकृत, सरकारी अधिकारी, अर्थमन्त्री लगायतका साझेदार तथा टेलियासोनेरासँग कुरा गरेर एक रोपोर्ट तयार गरेको छ । जसलाई शुक्रबारमात्रै टेलिभिजनबाट प्रशारण गरिएको थियो । एसभिटी टेलिभिजनले सो रिपोर्टमा नेपाललाई कर तिर्ने जिम्मेवारी टेलियासोनेराकै भएको निष्कर्ष निकालेको छ । नेपालको कानुनअनुसार दुई कम्पनीको बिक्रीबाट प्राप्त हुने लाभांशमा सरकारलाई लाभ कर तिर्नु पर्ने र सो टेलियासोनेराकै दायित्व भएको उसको निष्कर्ष छ । कसरी हिड्यो टेलियासोनेरा ? विगत ८ वर्षको अवधिमा एनसेलले बर्षैपिच्छे ठूलो मात्रामा नाफा कमाइरहेको थियो । तर टेलियासोनेराको एसियामा रहेको व्यावसाय तथा भ्रष्टाचारबीच सम्बन्ध देखिएपछि टेलियासोनेराले एसिया क्षेत्र छोड्ने निर्णय गर्यो । हालसम्म टेलियासोनेराले नेपालमा रहेको आफ्नो व्यवसाय मात्र बिक्री गर्न सकेको छ । टेलियाले नेपालमा रहेको आफ्नो सहायक कम्पनी एनसेल बिक्री गरेपछि नेपालका कर अधिकारीले टेलियासोनेरालाई लाभ कर तिर्नका लागि आव्हान गरे । तर जब कर अधिकारीले कम्पनीको प्रेसिडेन्टलाई बैठकका लागि बोलाए, उनले देश छोडेर हिंडे । गत वर्ष अप्रिलमा (वैशाखमा) जब एनसेलको कारोबार सम्पन्न भयो नेपालका कर अधिकारीले उक्त कारोबारमा कसरी कर लाग्छ भन्ने विषयमा छलफल गर्नका लागि कम्पनीका प्रमुख कार्यकारीलाई बैठकमा बोलाएका थिए ।  कर अधिकारीले यसमा उनको व्यक्तिगत दायित्व समेत रहने तर्फ इंगित गरे । तर टेलियासोनेराका प्रमुख कार्यकारी कहिल्यै उपस्थित भएनन् । उल्टै उनी नेपाल छोडेर हिंडे र केही हप्तामा एनसेल व्यवस्थापनमा रहेका टेलियासोनेराका अन्य २ व्यक्ति पनि फर्किए । टेलियासोनेराको धारणा के छ ?  तर यता टेलियासोनेरा भन्छ आफू त्यहाँबाट जिम्मेवार तरिकाले बाहिरिएको हो । टेलियासोनेराका प्रमुख कार्यकारी योहान डेनेलिन्ड भन्छन्, ‘हामीले महसुस गरेको जिम्मेवारी तथा आफूले लिनु पर्ने जिम्मेवारी हामीले निर्वाह गरेका छौं । मलाई लाग्छ एनसेलले आठ वर्षमा नेपालमा के योगदान गर्यो त्यसको बारेमा कुरा गर्नु पनि महत्वपूर्ण छ । कम्पनीले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ उनी भन्छन्, ‘सहि सधैं सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानूनी आधार छ भने । हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) प्राप्त गरेका छौं, जोड घटाउ शुन्य छ । नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं, ।’   टेलियासोनेरा भन्छ स्थानीय विज्ञहरुसँगको परामर्श पश्चात तत्कालिन व्यवस्थापनमा रहेका व्यक्तिहरु माथि अनावश्यक दबाब आउने आंकलन रह्यो । उनीहरुको सुरक्षालाई मध्यनजर गरेर देश छोड्नु पर्छ भन्ने निर्णय गरेको टेलियासोनेराका प्रमुख कार्यकारी योहान बताउँछन् । यसले टेलिायसानेराको गैरजिम्मेवारी पन झल्किएको स्पष्ट देखाउँछ । उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने टेलियाको दाबी छ । तर नेपालको आयकर ऐनले स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । नेपाल सरकार, आयकर ऐन लेख्ने अधिकारी तथा नेपालका कर अधिकृत सबै यो कुरामा स्पष्ट छन् कि ‘एनसेल कारोबारको कर नेपालमै तिर्नुपर्छ ।’ ‘हो, उनीहरु यसबाट उम्कन सक्दैनन्,’ नेपालका अर्थमन्त्री कृष्ण बहादुर महराले भने । टेलियासोनेराले नेपाललाई कति कर तिर्नु पर्छ  ? टेलियासानेराले कारोबारको कर विवरण नै बुझाएको छैन यसले पनि उसले कति रकम तिर्नु पर्ने हो नेपालको कर कार्यालयलाई समेत थाहा छैन  । एक अनुमानका अनुसार यो जरिवाना सहित १ अर्ब स्विडिस क्रोनर (करिब १२ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ । तर यो यसभन्दा कयौं गुणा बढी हुनसक्ने अनुमान कर अधिकारी र अर्थविद्हरूको छ । नाम सार्वजनिक गर्न नचाहने स्रोतहरुले कागजातहरु देखाउँछन् जसले टेलियाले एनसेल खरिद गर्दा र बिक्री गर्दाको रकमबीचको फरकलाई न्युन मूल्याङ्कन गरेको देखाउँछ । यस गणना अनुसार लाभमा कर २ अर्ब स्विडिस क्रोनर (करिब २४ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ । जरिवाना सहित गर्दा यो रकम ४ अर्ब स्विडिस क्रोनर (करिब ४८ अर्ब रुपैया) भन्दा बढी हुन आउँछ । अबको बाटो के त ? किन्ने र बेच्नेबीच कारोबार भइसकेपछि तुरुन्तै लाभकरको दायरामा ल्याउनु पर्नेमा टेलियासोनेरा नामक कम्पनी कसरी उम्कियो यो नै खोजीको विषय बनेको छ । कम्पनी हस्तान्तरण र सेयर बाँडफाँड, खरिद, बिक्री गर्दा कर कार्यालय किन अदेख भयो र यत्रो रकम गुम्ने स्थितिमा पुग्यो त्यो विषयमा नै स्पष्ट धारणा आइसकेको छैन । सर्वप्रथमतः टेलियासानेराले कति कर तिर्नु पर्ने हो सो स्पष्ट हुन जरुरी छ । नेपालको कानुन अनुसार कर तिर्ने र उठाउने वातावरण बनाउन परराष्ट्र मन्त्रालयलाई नै हार गुहार गर्नुको बिकल्प रहँदैन । ठूलो मात्रामा अनुमान गरिएको कर रकम नेपालले त्यसै छोड्न पनि सक्दैन । यसले गर्दा नेपाल सरकार र स्विडिस सरकारबीच यो विषयमा छलफल हुन जरुरी छ । यति गर्न सके टेलियासोनेरा कर तिर्न बाध्य हुन्छ र उसले आफ्नो गल्ती स्वीकार्दै जरिवानासहितको कर दाखिला गर्नु पर्छ ।  (स्वीडिस टेलिभिजन एसभिटीको रिपोर्टमा आधारित भएर तयार गरिएको सामग्री)

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images