होटल भवन निर्माणले घरहरू चर्किए
9:42 PM
माघ २८, २०७३- ‘परिवारको घरमा बास छैन । घर कति बेला भत्कने हो ? ’ चर्केको आफ्नो घर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई देखाउँदै नक्सालका राम अवतार गोयलले भने, ‘बस्नका लागि फ्ल्याट खोज्दैछौं ।’
२५ वर्षअघि बनाएको घर जगदम्बा हस्पिटालिटी ग्रुपले ठूला उपकरण प्रयोग गरी ‘ट्री हिल्टन’ होटल भवन निर्माण गर्दा आफ्नो घर चर्केको उनले दाबी गरे । गोयलमात्र होइन उनको जस्तै त्यस वरपरको अन्य व्यक्तिसमेत चर्केको स्थानीयले बताए ।
निर्माणाधीन ७ वटा घरलाई निकै असर परेको नक्सालका स्थानीय नवीन श्रेष्ठले बताए । स्थानीयवासीले महानगरपालिका, जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि कतै सुनुवाइ नभएको उनले गुनासो पोखे । स्थानीयको गुनासो आएपछि अख्तियारले काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण फाइल झिकाएर छानबिन थालेको उनको भनाइ छ । त्यही क्रममा अख्तियारले स्थलगत निरीक्षणसमेत गरेको हो । ‘यो त सारै अन्याय भयो, महानगरपालिकाले तत्काल निर्माण कार्य बन्द गरेर छानवीन गर्नैपर्छ’ होटल निर्माण स्थलमा भेटिएका अख्तियारका एक अधिकारीले कान्तिपुरसँग भने, ‘विकासका नाममा कसैको विनाश र उठिबास हुन भएन ।’
एक महिनादेखि जगदम्बा ग्रुपले नक्सालस्थित भगवती मन्दिर छेउमा होटल निर्माण कार्य सुरु गरेको छ । काठमाडौं महानगरपालिकाका अनुसार जगदम्बा ग्रुपले करीव ६ रोपनी जग्गामा १३ तल्ले फोर स्टार होटल सञ्चालन गर्न भवन निर्माण गरिरहेको छ । निर्माणका क्रममा नेपाल प्रहरीको केन्द्रीय कार्यालयदेखि नक्साल भगवती मन्दिरसम्मको सडक भास्सिएको छ । बाटो भास्सिँदा त्यसक्षेत्रको आवतजावत पुरै अवरुद्ध भएको छ । प्रशासनको आडमा स्थानीयका समस्यालाई सम्बोधन नै नगरि होटल निर्माण भइरहेको दाबी नवीन श्रेष्ठको आरोप छ । ‘महानगर र जिल्ला प्रशासनमा उजुरी गरिरहेका छौं कतै सुनुवाई भइरहेको छैन’ उनले प्रश्न गरे, ‘कसले कुरा सुनिदिने ?।’
वरपरका अधिकांश घरहरू चर्केको उनले बताए । यसअघि संसदको सुशासन तथा अनुगमन समितिले पनि महानगरपालिकाले हचुवाको भरमा निर्माण अनुमति दिएको निष्कर्ष निकालेको थियो । सुशासन तथा अनुगमन समितिले समेत छानबिन गरिरहेको छ । समितिले जगदम्बा हस्पिटालिटीले ठूला संरचना निर्माण गर्दा आवश्यक पर्ने वातावरणीय प्रभाव मुल्याङकन लगायत सार्वजनिक सुनुवाइसमेत नगरेको प्रतिवेदन दिएको छ ।
महानगरकापालिका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रक्रिया पुर्याएर महानगरपालिकाले निर्माण स्वीकृति दिएको दाबी गरे । ‘नक्सा, डिजाइन पेस गरेपछि महानगरले स्वीकृति दिएको हो’ उनले भने, ‘निर्माणका क्रममा के भएको हो ? उजुरीको आधारमा महानगरले छानवीन सुरु गरेको छ ।’ तर व्यवस्थापिकाअन्तर्गतको सुशासन समितिले छानबिन थालेको उनले बताए । ‘समितिले जाँचबुझ थालेको छ’ उनले भने, ‘त्यस कारण अहिले धेरै बोल्न जरुरी छैन ।’
- वातावरणीय प्रभाव मूल्यांकनसमेत गरिएको छैन : सुशासन समिति
- मापदण्ड पुर्याएपछि निर्माण अनुमति दिएका हौं : महानगर
- घर चर्कंदासमेत कतै सुनुवाइ भएन: स्थानीय
- स्थानीयलाई साह्रै अन्याय भयो : अख्तियार

0 comments