दमकमा संसारकै अग्लो बुद्धमूर्ति सहितको पार्क निर्माण हुने
9:00 PMकेशव राज भण्डारी, झापा, २९ माघ, झापाको दमकमा संसारकै अग्लो बुद्धमूर्ति सहितको पार्क निर्माण हुने भएको छ । दमक नगरपालिका वाडा नं. ५, चुलाचुली नि.मा.वि स्कुल छेउमा निर्माण हुने सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । बुधवार दमकमा बुद्धको मूर्ति निर्माणका लागि तयार पारिएको डि.पि.आर प्रस्तुतीकरण कार्यक्रम आयोजना गरी सोको जानकारी गराइएको हो । संसारकै अग्लो अर्थात् ५ सय ४० फिटको बुद्धमूर्ति र मूर्तिकै आसपासमा मनोरञ्जनात्मक एवम् पर्यटकीय पार्क रहने पनि जानकारी गराइएको थियो । बुद्धको मूर्ति र पार्क स्थापना हुने क्षेत्रलाई 'दमक विराटन बुद्ध भिलेज' नामाकरण गरिएको छ । सो पार्कको डिपिआर मल्टिडिसिप्लिनरी कन्सल्ट्याण्ट, डिजाईन कन्सल्ट्याण्ट र ए नट आर्टीटेक्चरले संयुक्त रुपमा तयार पारेका छन् । डीपीआर तयार भइसकेको हुँदा अन्तिम रुप दिन सो छलफल तथा पार्क निर्माणको लागि तयार पारिएको नक्साका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको टिम लिडर दिपक थापाले जानकारी गराए । बुद्धमूर्तिको वेस सवा ३ बिगाहामा फैलने तर बुद्ध भिलेज पार्क भने ३६ बिगाहामा समेटिने जनाइएको छ । मूर्तिसहितको सम्पूर्ण संरचना निर्माण गर्न साढे १५ अर्ब रुपैयाँको लागत रहने अनुमान गरिएको छ भने मूर्ति निर्माणका लागि मात्र रु साढे ६ अर्ब लगानी हुने जनाइएको छ । संरचना निर्माण पूरा भएको पहिलो वर्षमै ठूलो संख्यामा पर्यटक दमक भित्रिने दाबी दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालको छ । डिपिआर तयार भइसकेको हुँदा यसका अन्य प्रक्रिया पुरा भएपछि ठेक्का प्रकृयाबाट दक्ष निर्माण कम्पनी मार्फत निर्माण प्रकृया अघि बढाईने अधिकृत दाहालले जानकारी दिए ।
0 comments