बेलायत यसकारण छ समृद्ध

6:41 AM

माघ २६, २०७३- रोमनहरुले बेलायत कब्जा गरेपछि सन् ५० तिर लन्डनियोस् भनेर केल्ट भाषाबाट लिइएको शब्दबाटै लन्डन शहर नामाकरण गरिएको इतिहास छ, जसको शाब्दिक अर्थ साहसिक हुन्छ । रोमनहरुले लन्डनमा बग्ने थेम्स नदीमा पहिलो पुल हालेदेखि शुरु भएको विकासको शृंखलाले कुनै जमाना संसारको सर्वशक्तिशाली राजधानी स्थापित हुन पुग्यो लन्डन । 
सन् २०१५ मा भएको एउटा अध्ययन अनुसार पेरिस र न्यूयोर्कलाई पछि पार्दै संसारको सबैभन्दा उत्तम सहरको रुपमा घोषणा भएको लन्डनका आफ्नै विशेषताहरु छन् । वर्तमान समयसम्म आइपुग्दा लन्डन शक्तिशाली हुनुको कारणमा आर्थिक, सांस्कृतिक, जनस्वास्थ्य, भौतिक पूर्वाधार, खुशियाली तथा विकास जस्ता अनेकौं कुरा छन् ।
वहुसांस्कृतिक तथा वहुभाषिक रुपले परिचित लन्डन शहरको अर्को विशेषता सहनशीलता भन्दा फरक नपर्ला । व्यक्तिवादी संस्कारमा आधारित बेलायती समाजमा अरुलाई हानी नहुने गरी मनोरञ्जन तथा आफ्नो सोखका अनेक कुरा लन्डनमा उपलब्ध छ । आफ्नो नित्य काम प्राय साताको पाँच दिन गर्ने र बाँकी दुई दिन रमझममा बिताउने मध्यम तथा धनी व्यक्तिको खास रुटिन हुने गर्छ । 
पर्यटकीय तथा अन्य ऐतिहासिक धरोहरहरुलाई व्यापारीकरण गरि नाफासहित रोजगार प्रदान गर्न सक्नु अंग्रेजको विशिष्ट कला मान्नुपर्छ । संसारभरका मानिस ओइरो लाग्ने लन्डनमा मनोरञ्जनका अनेक माध्यम जस्तै नाइट क्लब, बार, रेस्टुरेन्ट, सपिङ मल, वेश्यालय (कानुनी मान्यताप्राप्त) हमेसा स्वागत गर्न बसेका देखिन्छ । देश विकास हुन दक्ष जनशक्ति र उत्पादकत्व वृद्धि जरुरी छ । त्यही अनुसारको उचित कमाइले आफ्नो इच्छा अनुसार खर्च गर्न सकिने उदाहरण लन्डनले देखाइरहेको छ । प्राचिनतामा नवीनता बोकेको लन्डनले विकास तथा संस्कारका धेरै कुरा सिकाएको बुझ्न असहज  हुन्न ।  
कुनैबेला संसारको करिब आधा हिस्सा शासन गरेको बेलायतको राजधानी लन्डनमा चौबिसै घण्टा मानिसहरु काम तथा मनोरञ्जन गर्न सक्षम छन् । यसको प्रमुख कारण कानुनी राज्य, बढ्दो व्यापारिकरण तथा समृद्ध ग्राहक नै हुन् । अहिंसालाई मुल मन्त्र मानेर मानिसमा कानुन पालनाको चेत तथा भौतिक विकास भएपछि कहिल्यै पनि विश्राम नलिने शहरको ज्वलन्त उदाहरणका रुपमा लन्डनलाई लिन सकिन्छ । बेलायतमा कसैलाई हातपात वा छुनु गैरकानुनी मानिन्छ । यसले हिंसा, अराजकता होइन, कानुनको पालना सहि रुपले अंगाले देशको प्रगति हुन सक्छ भन्ने सन्देश दिइरहेको छ । 
अहिलेको विकसित देश बेलायत हुन इतिहासको कालखण्डमा धेरै नै उतारचढाव भएको बुझ्न पनि जरुरी छ । बेलायतको प्राचिन इतिहास अनुसार केल्ट भन्ने जाति धेरै वर्षदेखि बसोबास गर्दै आएको मानिन्छ । रोमन साम्राज्यवादले इ.स.४३ मा बेलायत आक्रमण गरेपछि यी आदिवासी केल्ट समुदायमाथि चर्को दमन गरि नरसंहार गरेको इतिहासमा उल्लेख छ । करिब चार सय वर्ष शासन गरेको रोमले ब्रिटानिया भनेर नामाकरण गरेको थियो । यसपछि फ्रान्सबाट आएका इन्गल्स भन्ने समुदायका मानिसहरु बसोबास गर्न थालेपछि उनीहरुको ठाउँलाई इंग्ल्यान्ड भन्न शुरु गरिएको इतिहासमा पढ्न पाइन्छ । एन्गल्स मात्र नभइ डेन्स, जुट्स, भाइकिङ (नर्वे र डेनमार्कका मानिस) आदि समुदायहरु मिलि एंग्लो स्याक्सनले करिब ६ सय वर्ष शासन गरी सन् १०६६ मा हेस्टिङको लडाईं जितेर राजा हुने व्यक्ति विलियम कन्करण फ्रान्सको नर्मन्डी भन्ने ठाउँका थिए । त्यसैले यिनले शुरु गरेको वंशलाई नर्मन भनिन्छ । 
यस पछि प्ल्यान्टाजनिष्ट, ल्यान्काष्टर हुँदै टुडर वंशको शासन चलेको थियो । टुडर वंशका राजा हेनरी आठौंले पुत्र नभएपछि आफ्नी श्रीमती क्याथिरन अफ अरिगनलाई छोडपत्र गरि अर्को बिहे गर्न गरेको कदमलाई तत्कालीन पोपले मान्यता दिन अस्वीकार गरेपछि क्याथोलिक धर्मसंग सन् १५३४ मा सबै सम्बन्ध विच्छेद गरि प्रोटुस्टन धर्म इंग्ल्यान्डमा शुरुवात गरेको इतिहास छ । त्यसबेला पारपाचुके गर्नुपर्दा शुल्कसहित पोप कहाँ निवेदन हाल्नु पर्दथ्यो । प्रोटुस्टन भने क्याथोलिकबाट अलिक परिवर्तित भएको दावी गर्ने जर्मनीमा शुरु भएको थियो । यसले मुख्यत: पोपको सर्वमान्यतालाई अस्वीकार गर्दछ । 
६ वटा पत्नी भएका राजा हेनरी आठौंको यस कदमपछि शक्तिशाली क्याथोलिक धर्मसंग इंग्ल्यान्डको सम्बन्ध बिग्रिएको इतिहास देखि वर्तमानमा पनि युरोप र बेलायतबीचको सम्बन्धमा उतारचढाव भएको देखिन्छ । यसपछि अनेकौं धार्मिक लडाईं तथा गृहयुद्धको सामना गरि इंग्ल्यान्डमा गणतन्त्र घोषणा भएको थियो । अनेक झमेलाको बीचमा इंग्ल्यान्डमा सन् १६६० मे महिनामा राजा चार्ल्स दोश्रो विजयीका साथ लन्डन आए र फेरी इंग्ल्यान्डमा राजसंस्था स्थापित भयो । 
सन् १७०२ मा विलियमको निधनपछि महारानी आनले शासन चलाइन् । पाँच वर्षपछि इंग्ल्यान्ड र स्कटल्याण्डको युनियन बनाएर गाभियो । यो गाभिनुको मुख्य उद्देश्य स्कटल्याण्डमा पनि प्रोटुस्टनका बंश राजा हुन भन्ने हो । यस पश्चात इंग्ल्यान्ड र स्कटल्याण्ड एउटा देश बने र बेलायतको प्रगति उल्लेख्य रुपमा हुन पुग्यो ।
व्यापारिक चातुर्यताका साथ फैलिरहेको बेलायती साम्राज्यवादलाई उत्कर्षमा पुर्याउने कार्य औद्योगिक क्रान्तिले गरेको पाइन्छ । यहि समयमा उत्पादकत्वमा उल्लेख्य वृद्धि भइ अत्यावश्यक सामानहरुको भाउ सस्तो भएपछि जीवनस्तर क्रमश: उठ्दै गयो । रेल सुविधाको द्रुतगतिमा विकास हुन थाल्यो । फलस्वरुप बजार व्यवस्था तथा आधुनिक प्रतिष्पर्धाले गति लियो । 
दोश्रो विश्वयुद्धपछि सरकारले घर बनाएर निम्न आय भएकालाई सस्तोमा बहालमा दिने गरि धेरै घर (काउन्सिल घर) बनायो, यातायात तथा धेरै उद्योग राष्ट्रियकरण गरि थप विस्तार गर्यो । सबैलाई निशुल्क स्वास्थ्य उपचार हुने गरि नेशनल हेल्थ सर्भिस शुरुवात भयो । बेरोजगार तथा निम्न आय भएकालाई तलब भत्ता तथा सुविधा अरु थप गरि समाज कल्याण अवधारणाको विकास भयो र नै आधुनिक जनजीवनको आधार खडा हुन पुग्यो ।      
कुनै पनि देश समृद्ध हुन राजनीतिक स्थायित्व, सही नीति तथा राजनीतिक नेतृत्वको अग्रगामी भूमिका रहन्छ भन्ने कुरा बेलायतको इतिहासबाट देख्न सकिन्छ ।
(लेखक एक दशकदेखि लन्डनमा छन् ।)

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images