युएईमा ९३७ नेपाली सुरक्षागार्डको करार रद्द

2:42 AM

माघ २५, २०७३- संयुक्त अरब इमिरेट्स (यूएई) स्थित हिमाया सेक्युरिटी सर्भिसले २ हजार १० जना विदेशी सुरक्षा गार्डको करारपत्र रद्द गरेको छ । त्यसमा ९ सय ३७ नेपाली परेका छन् । 
हिमायाले आफ्नो व्यवस्थापनलाई पुन:संरचना गर्न लागेको भन्दै ती सुरक्षा गार्डसँग गरिएको करार सेवा रद्द गरेको जनाएको छ । रद्द भएका सुरक्षा गार्डहरुको सेवा अवधि अप्रिल १ देखि सकिनेछ । कम्पनीले रद्दमा परेका सबै सुरक्षागार्डलाई सूचना दिइसकेको छ । 
करार सेवा रद्दमा परेका कामदार भने चिन्तित छन् । ‘तीनवर्षे करार अवधि सकिएकाले नथपेको हामीलाई भन्यो’, बुटवलका कुमार सापकोटाले भने,‘नयाँ कामदार ल्याउन भन्दा हामीलाई नै मौका दिन अनुरोध गरेका छौं ।’ 
हिमायाले नयाँ सम्झौता गरेका १ सय २४ जना नेपाली सुरक्षा गार्डलाई समेत काम दिएको छैन । हिमायाको व्यवस्थापनले नेपाली दुताबासका अधिकारीहरुलाई पुराना सुरक्षाकर्मीको पनि करार अवधि रद्द गरेको जानकारी दिएको छ । हिमायामा झन्डै ८ हजार सुरक्षाकर्मी कार्यरत छन् । त्यसमा झन्डै ३ हजार नेपाली सुरक्षा गार्ड काम गर्छन् । हिमायामा सबभन्दा बढी एसआरएस म्यानपावरमार्फत कामदार गएका थिए । 
दलालले अवैध बाटो प्रयोग गरी त्यस कम्पनीमा कामदार लगेका छन् । नेपाली दुताबासले हिमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका कामदारलाई स्वदेश नपठाउन अनुरोध गरेको छ । दुताबासले जर्बजस्ती सम्झौता तोडेर फर्काएको खण्डमा भविष्यमा हिमायालाई थप सुुरक्षाकर्मी नदिने चेतवानी दिएको छ । 
हिमायाले पुरुष सुरक्षागार्डलाई ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) र महिला सुरक्षा गार्डलाई ३५ सय दिराम (एक लाख ५ हजार रुपैया) तलब दिंदै आएको छ । आकर्षक तलब तथा सेवा सुविधा भएकाले म्यानपावर कम्पनीले कामदारसँग ८ लाख रुपैया असुल गरी पठाउने गरेको थियो । 
‘हामीले उच्च तालिम दिएर सुरक्षागार्ड उपलब्ध गराउदै आएको थियौं । ती सुरक्षा गार्डले युएईको मन्त्रालय, सरकारी कार्यालय, दुताबास, ठुला ठुला कम्पनी तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमको सुरक्षा प्रदान गर्दै आइरहेका छौं’ हिमायाका कार्यकारी निर्देशक अहमद मोहम्मद अलहन्तोबाले आफ्नो वेबसाइटमा भनेका छन् । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images