अस्पतालबाटै चोरी भएको शिशु तीन दिन पछि फेला
10:08 AM
नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार जन्मिएको दुई घन्टा नबित्दै चोरी भएको शिशु आईतबार भेटिएको छ । आइतवार बिहान पर्साको बेल्वा –९ मा बच्चा भएको सूचना पाएपछि गएका प्रहरी उपरीक्षक गोविन्द साहको टोलीले मिलनचोक घर भएका विन्देश्वर साहको घरबाट हराएको बच्चा फेला पारेका हुन्। विन्देश्वर साहकी छोरी लालसा देवीले अस्पतालबाट बच्चा चोरी गरेको प्रहरीले जनाएको छ । शिशुलाई प्रहरीले आमा र परिवारको जिम्मा लगाएको नायब उपरीक्षक चक्रराज जोशीले बताए। प्रहरीले फेला परेको शिशु र पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ। जन्मदै स्वास्थ्य कमजोर रहेको शिशु २ दिन चिकित्सकीय रेखदेखभन्दा बाहिर रहेकोले तुरुन्तै ‘एनआइसियु’ भर्ति गर्नुपरेको चिकित्सकहरुले बताएका छन्। बच्चा फिर्ता आएपछि शिशुका पिता मुकेश पासवान धेरै खुसी देखिएका छन्। वीरगन्ज उप–महानगरपालिका वाड नम्बर २ छपकैया निवासी मुकेश पाशवानकी श्रीमती आसा देवी पाशवानले शुक्रबार बिहान १०: ४० बजे जन्माएको बच्चा शुक्रबार नै अस्पतालको प्रशूतिगृहबाट एक महिलाले दुई घन्टा नबित्दै बच्चा चोरेर फरार भएकी थिइन्। बिहे गरेको ५ वर्ष बितिसक्दा पनि आफ्नो सन्तान नभएपछि लालसादेवीले सन्तानको प्यास मेटाउन कसैको नवजात शिशु चोर्ने विचार गरेको बयान प्रहरी सामू दिएकी छन्। उनी वीरगञ्जस्थित प्रसुतीगृहमा जाने र सुत्केरी गराइरहेको ठाउँबाटै बच्चा उठाउने गर्ने गरेकी थिइन्।
यस्तै क्रममा शुक्रबार वीरगञ्जबाट बच्चा चोर्न सफल भएको लालसादेवीले प्रहरीलाई दिएको वयानमा भनेकी छिन्- ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ ।’ बच्चा चोर्ने महिला लालसादेवीले आफूबाट बच्चा नजन्मिए पछि सन्तानको चाहना चोरेरै पुरा गर्ने विचारमा आफूले बच्चा चोरेको प्रहरीलाई वयान दिएकी छिन्। वीरगञ्ज उपमहानगरपालिका-१ छपकैयाकी आशादेवी पासवान र मुकेश पासवानको नवजात छोरो लालसादेवीले अस्पतालको शय्याबाटै शुक्रबार दिउँसो चोरिन् । अस्पतालको शैयाबाटै शुक्रबार दिउँसो चोरी भएको नवजात शिशु शनिबार साँझसम्म फेला पर्न नसक्दा आमा आशादेवीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अभिभावक र गाँउलेहरुले अस्पताल अगाडि सडकमा प्रदर्शन गरेका थिए। शनिबार राति अस्पतालमा भएको वार्तामा प्रहरी र अस्पताल प्रशासनले चोरी भएका बच्चाको खोजी गर्न प्रतिबद्धता जनाएपछि आईतबार बच्चाको आफन्तले प्रदर्शन रोकेका थिए। प्रहरीले लालसादेवीलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखेको छ।
0 comments