राजनीतिक सहमतिपछि मात्रै निर्वाचनको मिति घोषणा : प्रधानमन्त्री
5:06 AMचितवन, २६ माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मधेशी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेशी मोर्चासहित अन्य दलहरुसँगको सहमतिपछि मात्र तय गरिने बताए । मन्त्रीपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै प्रधानमन्त्री दाहालले यो नै मिति तोक्नु सरह भएको बताए । प्रधानमन्त्रीले भने, 'मधेशी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।' उनले भने, 'सबै नेपाली जनताले बुझिसकेको कुरा छ कि चुनाव बैशाख वा जेठभित्रै हुन्छ ।' संविधान संशोधन विधयक पारित गराउने पहिलो कोशिश हुने भन्दै उनले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्काे प्रयास थालिने बताए । स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी नभएको बताए । थ्रेसहोल्ड सम्बन्धी ऐन अहिले भर्खर आवश्यक नरहेको प्रधानमन्त्रीको भनाई थियो । स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रीपरिषद्ले १५ दिनको समय समेत दिइसकेको पनि प्रधानमन्त्रीले बताए । उनले सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको स्पष्ट पारे । तहको निर्वाचन भन्नेमा कुनै शंका नरहेको भन्दै प्रधानमन्त्रीले तह सम्बन्धी ऐन बनेर पारित भइसकेको बताए । नेकपा एमालेले निर्वाचन गर्न नसके सरकार छोड्नुपर्ने बताइरहेको छ नि भन्ने भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, 'मैले निर्वाचन गर्ने प्रतिबद्धता मात्रै होइन, प्रक्रिया नै अगाडि बढाईसकेको छु, तयारी अगाडि बढिसकेको छ । यो अवस्थामा भ्रम सिर्जना गर्ने अभिव्यक्ति दिनुको सट्टा सरकारलाई सहयोग गर्न मैले प्रतिपक्षलाई अपिल गरिरहेको छु ।' प्रधानमन्त्री प्रचण्डले भने, 'तपाईंले हिजो मात्रै देख्नुभो, स्वच्छ, निष्पक्ष, धाँधलीरहित, पारदर्शी र मितव्ययी बनाउन लागि भोटिङ मेसिनको प्रयोग गर्ने प्रक्रियाको आन्दोलनमा सहभागी सबै दलहरु सहभागी भएका छन् । त्यो प्रक्रिया अगाडि बढेको छ ।' सरकार कमजोर नरहेको भन्दै उनले अझ बलियो बनेको बताए ।
0 comments