दीपक–दीपाको फिल्ममा निश्चल–स्वस्तिमा जोडी!
9:45 PM
‘६क्का पञ्जा’बाट विविध रेकर्ड बनाएका निर्माता तथा अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले आगामी फिल्मको घोषणा गरेका छन्। ‘नाईं नभन्नु ल’ सिरिजबाट चर्चा कमाएका निर्देशक विकास आचार्यको कथामा उनकै निर्देशन रहने फिल्मको नाम तय भइसकेको छैन।
त्यसो त यो फिल्म दीपक–दीपाको समूहले यसअघि बनाउँदै आएजस्तो पूर्ण सामूहिक फिल्म भने होइन। दीपक–दीपा र आचार्यको निर्माण कम्पनीको संयुक्त निर्माणमा यो फिल्म बन्न लागेको अभिनेता गिरीले सेतोपाटीलाई जानकारी दिए।
‘विकास आचार्यले मलाई स्क्रिप्ट पढ्न दिनुभएको थियो,’ गिरीले सेतोपाटीसँग भने, ‘कथा मन परेपछि उहाँलाई निर्माता को भनेर सोध्दा पक्का नभएको बताउनुभयो। त्यसपछि हामीले निर्माण गर्ने प्रस्ताव राख्यौं। उहाँ राजी हुनुभयो।’
यसअघि वर्षको एउटा फिल्म बनाउने बताउँदै आएका दीपक–दीपाले अहिले भने राम्रो कथा पाए एउटामा मात्र सीमित नहुने बताए। आफ्नो टोलीले बनाउने फिल्मका लागि लामो समय तयारी गर्नुपर्ने भएकाले बीचको समय टिमबाहिरको निर्देशकसँग काम गर्न लागिएको उनको भनाइ छ। दीपक–दीपा निर्माताको भूमिकामा मात्र हुनेछन्, पर्दामा उनीहरुलाई देख्न पाइने छैन।
हालसम्म कोही कलाकार पक्का भइसकेका छैनन्। गिरीको भनाइमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, जितु नेपाल र एक नव अभिनेतासँग दुई÷तीन चरणमा कुरा भइसकेकाले उनीहरुको सम्भावना बलियो छ।
फिल्मका बारेमा विस्तृत खुलाउन नमिल्ने बताउँदै गिरीले फिल्म प्रेमकथामा आधारित रहने जानकारी दिए। ‘विकास आचार्यको फिल्मबाट पाइने संवेदना र दीपक–दीपाको फिल्मबाट पाइने हाँसो दुवै पाइनेछ,’ दीपकले भने, ‘कमेडी लभस्टोरी हुनेछ फिल्म।’

0 comments