नेपाली फुटबलको सुनौलो वर्ष : खेलाडीले ३५ लाखसम्म कमाए

9:55 AM

काठमाडौं, माघ २१ – यो वर्ष आन्तरिक फुटबल प्रतियोगिता निकै धेरै भए । नयाँ वर्ष लागेदेखि नै सुरु भएका ठूलो पुरस्कार राशीका फुटबल प्रतियोगिता अहिले पनि चलिरहेका छन्, केही प्रतियोगिताको मिति पनि तोकिएको छ । साग, बंगबन्धु र सोलिडारिटीकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको नेपाली टोली देशभित्रै पनि वर्षभरी प्रतियोगितामा ब्यस्त हुँदा एकातिर खेलाडीको क्षमता बढ्दै गएको छ, भने मनग्य आम्दानी पनि भैरहेको छ । 

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आएको नगद

पोहोरसालको माघमा बहराइनलाई हराएर बंगबन्धु गोल्डकप जितेको नेपाली टोलीलाई सरकारले २/२ लाख रुपैयाँ नगद सहित सम्मान गर्‍यो । त्यस्तै मलेसियामा भएको सोलिडारिटी कप जितेको टोलीलाई ३/३ लाख र साग जितेको टोलीलाई ५ लाख रुपैंयाका दरले सरकारले नगद दिने  निर्णय भैसकेको छ  । राष्ट्रिय टिमका धेरै खेलाडीले बंगबन्धु, साग र सोलिडारिटीकप खेलेका हुनाले धेरैले १० लाख पुुरस्कार पाउनेछन् । 
त्यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले पनि बंगबन्धु जिताउने सदस्यलाई ५/५ लाख र सोलिडारिटी कप जित्ने टोलीका हरेक सदस्यलाई ५/५ लाख रुपैयाँका हिसावले नगद दिने निर्णय गरेको थियो । यस्तै सोलिडारिटी विजेता सदस्यलाई ३/३ लाखका दरले एन्फाले पुरस्कारको घोषणा गरेको थियो । यसरी एन्फाले मात्रै १३ लाख रुपैयाँ खेलाडीलाई दिने निर्णय गरेको थियो । 
३ वटै प्रतियोगितामा सहभागी खेलाडीले सरकार र एन्फाबाट गरेर २३ लाख रुपैयाँ पाउने पक्का गरेका छन्  । अनुपातमा १५ देखि २० लाखको हाराहारीमा खेलाडीले सरकार र एन्फाबाट नगद पाएका छन् ।
प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल संघ एन्फा मात्र होइन, ३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको नेपाली टोलीका सदस्यले बैंक, ब्यापारिक घराना, सेना, प्रहरी, सञ्चारमाध्यम तथा विभिन्न संघ संस्थाबाट पनि नगद पुरस्कार पाए । यो क्रम अहिलेसम्म पनि रोकिएको छैन । 
नेपाली फुटबल टोलीका एक सदस्यका अनुसार यो वर्ष एकजना नेपाली खेलाडीले ३५ लाख रुपैयाँसम्म पनि आम्दानी गरेका छन् । ‘सरकार, एन्फा र विभिन्न संघसंस्थाबाट गरि यो बर्ष केही खेलाडीले ३० देखि ३५ लाख रुपैयाँसम्म कमाएका छन्’ नाम नबताउने शर्तमा उनले भने, ‘कर लगायत अन्य समस्याले खेलाडीले नभन्न पनि सक्छन्, तर हिसाब गर्दा राष्ट्रिय टोलीका हरेक सदस्यले १० देखि २० लाख रुपैयाँसम्म हात पारेका छन् ।’
हातमा पैसा नपरेपनि केही खेलाडीले ३० लाख रुपैयाँसम्म आम्दानी गरेको राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ्ग पनि स्वीकार गर्छन् । ‘यो वर्ष हामी निकै ब्यस्त रह्यौं, ३ वटा ठूला उपाधी पनि जित्यौं, कुनै कुनै खेलाडीले ३० लाख रुपैयाँ पनि पाएका छन् म त्यो स्वीकार्छु’ अनिलले भने ।

घरेलु प्रतियोगिताबाट पनि मनग्य आम्दानी

अन्तर्राष्ट्रिय खेल मात्र होइन, यो वर्ष ठुलो पुरस्कार राशीका घरेलु प्रतियोगिता पनि धेरै भए । भैरहेका पनि छन् । जहाँ पहिलो हुने क्लवले ७ लाखसम्म पुरस्कार पाएको छ भने उत्कृष्ट हुने खेलाडीले मोटरसाइकल र ५० हजार रुपैयाँसम्म नगद पाएका छन् ।
२०७३ सालको सुरुमै पहिलो हुने ५ लाख रुपैयाँ पुरस्कार पाउनेगरि पोखरा गोल्डकप र डेढलाख राशीको नेपालगन्ज गोल्डकप प्रतियोगिता भयो । विजेताले १ लाख १ हजार रुपैयाँ पाउनेगरि मदन भन्डारी स्मृतीकप, भदौमा डेढलाखको पाथिभरा गोल्डकप र मंसिरमा विजेताले साढे ३ लाख पुरस्कार पाउने सुरुङ्गा गोल्डकप र ३ लाख ११ हजार पहिलो पुरस्कार रहेको दुहवी गोल्डकप भयो ।
पुसमा ५ लाख रुपैयाँ पहिलो पुरस्कार रहेकोे खप्तड गोल्डकप र २ लाख रुपैयाँ पुरस्कारको फाल्गुन्द गोल्डकप प्रतियोगिता भयो । ५ लाख राशीको आहा रारा गोल्डकप भयो भने सात लाख रुपैयाँ राशीको झापा गोल्डकप ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार राशीको सिमरा गोल्डकप चलिरहेको छ । खेलाडीले प्रतियोगिता हेरेर एउटा खेलको १० हजार रुपैयाँका दरले आम्दानी गरिरहेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलेर ६ जना खेलाडीले मोटरसाइकल पुरस्कार पाइसकेका छन् भने नगद पनि पाइरहेका छन् ।
आफूले सम्झिएसम्म यो वर्ष निकै ब्यस्त रहेको कप्तान अनिल गुरुङ्ग बताउँछन् । अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ पनि राष्ट्रिय लिग नभएपनि जिल्ला जिल्लामा भएका प्रतियोगिताबाट खेलाडी व्यस्त रहेको बताउँछन् । ‘अहिले उनिहरु निकै ब्यस्त छन् एकातिर ब्यस्त हुँदा प्रदर्शनमा कमी हुन्न भने अर्कोतिर धेरथोर आम्दानी पनि भरहेको छ’ अध्यक्ष श्रेष्ठले भने ।

 यी हुन् २०७३ सालमा भएका मुख्य प्रतियोगिता 

– नेपालगञ्ज गोल्डकप – बैशाखमा नेपालगञ्ज गोल्डकप प्रतियोगिता भएको थियो । जहाँ सुदुरपश्चिम ११ ले एपिएफलाई हराएर १ लाख ५१ हजार रुपैयाँ जित्यो । ए डिभिजनका ४ सहित ८ टिम सहभागी ।
–   पोखरा गोल्डकप –बैशाखमै पोखरा गोल्डकप भयो । मनाङ्गले आर्मीलाई हराएर ५ लाख ५ हजार रुपैयाँ पुरस्कार जितेको थियो ।
–  मदन भन्डारी स्मृतीकप – जेठमा भएको प्रतियोगिता आर्मीले  जितेर १ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको थियो । 
– पाथिभरा गोल्डकप –  भदौमा भएको प्रतियोगिता झापा ११ ले जितेर १ लाख ५१ हजार रुपैयाँ नगद पाएको थियो ।
–  सुरुङ्गा गोल्डकप – मंसिरमा भएको प्रतियोगिता  जितेर सशस्त्र प्रहरीको एपिएफले ३ लाख ५१ हजार रुपैयाँ हात पार्‍यो ।
–   दहवी गोल्डकप – मनाङलाई हराएर त्रिभुवन आर्मी क्लवले दुहवी गोल्डकपको उपाधी जित्यो र ३ लाख ११ हजार रुपैयाँ पायो ।
–  फाल्गुनन्द गोल्डकप – पुसमा भएको फाल्गुनन्द गोल्डकप जितेर सोनाम स्मृती क्लवले १ लाख ११ लाख रुपैयाँ  पाएको थियो ।
– खप्तड गोल्डकप –पुसमै भएको खप्तड गोल्डकप जितेर मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पायो उत्कृष्ट खेलाडी अनिल गुरुङ्गले मोटरसाइकल उपहार पाए ।
– आहा रारा गोल्डकप – माघ महिनामा भएको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेर मनाङले ५ लाख १ हजार रुपैयाँ नगद पायो । उत्कृष्टले मोटरसाइकल पाए ।
– झापा गोल्डकप – अहिले चलिरहेको झापा गोल्डकपको उपाधी जित्नेले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ । 
– सिमरा गोल्डकप : बिहीबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पाउनेछ । 
–   बुढासुब्बा गोल्डकप र विराट गोल्डकप पनि यसै वर्ष हुनेछन् ।
अहिले ए डिभिजन लिग नभएको अवस्थामा क्लवको लागि खेलाडी किनबेच रोकिएको छ । खेलाडी जुनसुकै क्लवमा गएर खेल्न सक्छन् । तर क्लवमा आवद्ध नहुँदा उनीहरुले कम पारिश्रमिक पाउने र करियरको टुंगो हुँदैन । खेलाडीले आफ्नो चाहना अनुसार बढि पैसा दिने क्लवमा गएर खेल्न सक्छन् ।
अर्कातिर क्लवहरुले पनि कमाउने मौका पाएका छन् । वर्षैैैभरी सुनसान जस्तै हुने नेपाली फुटबलमा महिनैपिच्छे ठूला प्रतियोगिता हुनु र एउटै खेलाडीले ३० लाख रुपैयाँसम्म कमाउनु नेपाली फुटबलको लागि शुभ संकेत हो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images