यूएईमा थप ७६१ नेपाली सुरक्षा गार्ड निश्कासित

8:33 AM

तीन हप्ताभित्र नयाँ काम नखोजे स्वदेश फर्काइने

माघ २७, २०७३- चर्को आर्थिक शोषण र मानव तस्करीको शैलीमा संयुक्त अरब इमिरेट्स (युएई)मा लगिएका ११७ नेपाली सुरक्षागार्डलाई हिमाया सेक्युरिटी सर्भिसले काम दिन नसक्ने बताउदै चरणबद्ध रुपमा नेपाल पठाउने तयारी गरेको छ । 
युएईको राजधानी आबुधाबीस्थित नेपाली दुताबासका अनुसार कम्पनीले सुरक्षागार्डलाई युएईमा बसेको महिनासम्मको तलब दिएर नेपाल पठाउने निर्णय गरेको हो । ‘कम्पनीले उनीहरुलाई काम दिन नसक्ने भयो ।
उनीहरुको भिसा जारी भएको मितिदेखि जनवरी महिनासम्मको तलब दिएर नेपाल पठाउने भयो’, श्रम काउन्सेलर भेषबहादुर कार्कीले कान्तिपुरलाई भने,‘यदि युएईमै रहेर अन्यन्त्र काम गर्ने हो भने तीन हप्ताभित्र अर्को कम्पनी खोजिसक्नुपर्नेछ ।’ कामदार नेपाल फर्किने वा युएईमै रहने भन्नेमा अन्योलमा छन् । दुई जना बुधबार स्वदेश फर्केका छन् ।   
एकसय १७ जना कामदारमध्ये ५२ जना एसआरएस म्यानपावरले श्रम स्वीकृति निकाली गत असोज १९ गते युएई पठाएको थियो । ८ जना ब्यक्तिगत श्रम स्वीकृति लिई पुगेका थिए भने बाँकी ग्लोबल ट्यालेन्ट रिक्रुटमेन्टका ओमबहादुर थापा र सुमेरा म्यानपावरका देबेन्द्र कार्कीले भिजिट भिसामा त्रिभुवन बिमानस्थलमा सेटिङ गरी लगिएको थियो ।
वैदेशिक रोजगार ऐन अनुसार विदेशमा काम गर्न जानेलाई श्रम स्वीकृति बिना लगिएमा मानव तस्करीको रुपमा लिइन्छ । ति कामदारले म्यानपावर र एजेन्टलाई ७ लाख देखि ८ लाख ५० हजार रुपैयाँसम्म बुझाएका छन् ।
कामदारको आवासीय अनुमति पत्र समेत बनिसकेको थियो । हिमायाले उनीहरुलाई तामिल समेत गराएर काम सुरु गर्न तयारी अवस्थामा राखे पनि काममा लगाएको थिएन । उनीहरुलाई प्रति महिना ४ हजार दिनार दिने सम्झौता भएको थियो । 
हिमायाले एकसय १७ सहित थप ७ सय ६१ सुरक्षागार्डलाई स्वदेश देश पठाउने निर्णय लिएको कार्कीले बताए । जसमा  १५ वर्षदेखि दुई महिनासम्म काम गरेका नेपाली परेका छन् । ती सबैलाई मार्च महिनाभित्र नेपाल पठाउने छ ।

नयाँ कामदार ११७ मध्ये सेटिङबाट आएका कामदारलाई दलालले रकम फिर्ता गर्न युएईमै चेक दिइसकेका छन् । आफ्ना रकम पाएपछि उनीहरुले दलालबिरुद्ध वैदेशिक रोजगार विभागमा उजूरी नगर्ने भएको छ । 
एसआरएसले उठाएको रकमको बिषयमा नेपालमै गएर छलफल गर्ने जनाएको छ । ‘म्यानपावरका सञ्चालक यही छन् । उनीहरु रकम फिर्ता गर्ने नेपालमै गएर छलफल गर्ने भन्छन्,’ एक पीडितले कान्तिपुरलाई भने,‘हामी पो अन्यायमा पर्न गयौ ।’ 
पीडितहरुले नेपाली दुताबासमा सामुहिक उजुरी दिदै क्षतिपुर्ति सहित रकम फिर्ता गर्न माग राखेका छन् । वैदेशिक रोजगार बिभागका महानिर्देशक बिश्वराज पाण्डेले छानबिन भइरहेको बताए । 



You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images