‘जागिर लगाइदिने बहानामा पार्टी खाइयो’
8:58 PMसाहित्यकार ध्रुवचन्द्र गौतमका मदिरा किस्सा
२७ माघ, काठमाडौं । कवि-कलाकारलाई निकै रसिक मिजासका मनुवा मानिन्छ । त्यो रसिकपनमा पनि अक्सर मदिराप्रेमीको बात लाग्न छुट्दैन । हुन पनि कतिपय कविको किस्साले कविहरु संसार भुलेर ‘रस’ मै डुबुल्की मार्ने भनेर बदनाम छन् ।
साहित्यकार डा. ध्रुवचन्द्र गौतम भने कवि-लेखकहरु पियक्कड हुन्छन् भनेर बात लगाउनु उचित नहुने बताउँछन् । लेखकहरुले मात्र पिएको हैन भन्दै उनले तर्क गरे, ‘पिउने-नपिउने व्यक्तिगत प्रवृत्ति हो ।’ उनका अनुसार, अरुले पनि पिउँछन्, झन् धेरै पिउँछन् ।
यसरी लेखकहरुको बचाउ गर्ने ध्रुवचन्द्र आफू पनि पिउँछन् । मदिरासँग जोडिएका उनका पनि धेरै किस्साहरु छन् । तर, पछिल्लो समय उनले मदिराको खपत घटाएका छन् । मदिरा पहिले खाने गरे पनि अचेल त्यति रुचि नलाग्ने उनी बताउँछन् । उनको दाबी छ, ‘अहिले त्यो(मदिरा) बाट प्रायः मुक्त छु । चटक्कै छाडेको भन्नु त भएन । ठाउँ र सर्कल हेरेर अनि सोसलाइजेसनको लागि पिउँछु ।’
पुस्तक लोकार्पण र अन्य कार्यक्रममा निम्तोका क्रममा ‘बेलुका यसो बसेर जमौंला’ भन्ने प्रस्तावलाई ठाडै नकार्ने गर्छन् । उनी जवाफ दिन्छन्-‘बेलुकाको कुरा छाडिदिनुस् !
मदिराको प्याला थपिँदै जाँदा धेरैजसोले अस्वाभाविक हर्कत देखाउँछन् । ध्रुवचन्द्रले भने त्यसबाट आफूलाई पर राख्दै आएका छन् । उनी आफूलाई ‘शान्त किसिमले पिउने प्राणी’ भन्छन् ।
शान्त प्रकृतिका यी मापसेकर्ताले हँसमुख भावमा आफ्नो मदिरा-किस्सा खोतल्न थाले । ‘साथीभाइ बस्यो, पैसा कम हुन्थ्यो, मिलेर खाइन्थ्यो’, एउटा किस्सावाला बेला पनि थियो भन्दै उनले केही किस्सा यसरी सुनाएः
पैसा नपुगेर उधारो खाइयो
हामी लेखक-कविहरुको विभिन्न रेष्टुरेन्टमा जमघट हुन्थ्यो । सधैं एउटै रेष्टुराँमा बस्दैनथ्यौं । न्युरोडमा झरना रेष्टुराँ थियो । त्यहाँ धेरै लेखकहरु जम्मा हुन्थे ।
यो किस्सा चाहिँ ‘वासुदेव’ फिल्म बन्ने बेलाको हो । फिल्मको कथा मेरो भएकोले मैले फिल्म युनिटबाट ‘साइनिङ एमाउन्ट’ एक हजार रुपैयाँ पाएको थिएँ । त्यो पैसा लिएर खानपिन गर्न हामी केही साथी निस्कियौं । त्यतिबेला नारायणगोपाल, शम्भुजित बाँस्कोटा, ध्रुव सापकोटा, विनोद दीक्षित लगायत थियौं ।
जमलमा मेहवा नामको रेष्टुरेन्ट थियो । राम्रै स्तरको रेष्टुरेन्ट थियो त्यो । खाँदै गइयो । धेरै खाइएछ । मसँग त त्यही हजार रुपैयाँ मात्र थियो । पैसा तिर्ने बिलमा १५ सय उठेछ । मैले नै ख्वाउने भनेर साथीहरुलाई लगेको थिएँ । अब आपद् पर्यो !
रेष्टुराँमा चिनजान नै थिएन । तर, काउन्टरमा गएर यस्तो-यस्तो अप्ठेरो पर्यो भनेर जानकारी गराएँ । बाँकी पैसा अर्को दिन आएर तिर्छु भनेर साइन गरेर हिँडेँ । साइन गर्दा पनि मान्यो । पछि केही दिनमा गएर तिरेँ ।
मलाई लाग्छ, त्यहाँ नारायणगोपाललाई देखेर रेष्टुराँवालाले पत्यायो । हामी लेखकहरुलाई त चिन्ने कुरा भएन । नारायणगोपाल त त्यसबेलासम्म सेलिबि्रटी भएर परिचित भइसकेका थिए ।
फेरि त्यस्तो कहिल्यै नहोस् !
साथीहरुसँग खाने-पिउने क्रममा कहिलेकाहीँ साह्रै नमज्जा हुन्छ । त्यस्तो घटनामा पनि परिएको छ ।
साथीहरुले एउटा घरमा पार्टी खान बोलाइएको छ भने । त्यसरी निम्तो आएको छ भने जाऊँ न त भन्ने कुरा भयो । साथीहरुसहित त्यहाँ पुगियो । त्यो परिवारले अनेक मान-सम्मान गरेर मेजमान गराए । खानपिनको व्यवस्था गजब थियो । साथमा मदिराको व्यवस्था पनि थियो ।
मलाई थाहा छैन, किन त्यत्रो सम्मान गरे ! दंग पर्दै खाएँ ।
सँगैका साथीहरुमध्ये एउटाले भनेपछि पो यत्रो सम्मान र मेजमानको रहस्य पत्ता लाग्यो । त्यो साथीले बढी पिएकोले सबै कुरा तत्कालै छरपष्ट भनिहाल्यो ।
खासमा त्यो घरको कुनै सदस्यलाई जागिर चाहिएको रै’छ । साथीहरुले मलाई यो ठूलो मान्छे हो, यसले जागिर लगाइदिन सक्छ भनेर त्यो परिवारलाई भ्रम छरेका रै’छन् । त्यसै क्रममा हामीलाई सम्मानपूर्वक खाना खान बोलाइएको थियो । त्यो परिवार जागिरको लागि सोर्स लगाउने ध्याउन्नमा दत्तचित्तले खटिएको थियो ।
त्यसरी भ्रम छरेर खानपिनको व्यवस्था मिलाउने साथीहरु सबै साहित्यिक क्षेत्रकै थिए ।
त्यसबारे थाहा पाएर मलाई बडो नराम्रो लाग्यो । त्यसबेला साथीहरुलाई एकदम गाली गरेँ । सम्झँदा पनि पछिसम्म नराम्रो लागिरह्यो । त्यसरी मान्छेलाई भ्रममा पारेर, झुक्याएर खान न म पहिले चाहन्थेँ, न अहिले चाहन्छु । साथीहरुलाई कराएपछि त्यस्तो घटना फेरि दोहोरिएन ।
‘शहीद’ बनेको सय रुपैयाँको नोट
कवि-लेखकहरु अक्सर न्युरोडको पिपलबोटमा जम्मा हुन्थे र गफगाफ गर्थे । नजिकैको कुनै रेष्टुराँमा गएर खान्थे । त्यसै क्रममा एकचोटिको कुरा हो । आलोपालोमा साथीहरुलाई मैले ख्वाउनुपर्ने दिन थियो । शैलेन्द्र साकार, ध्रुव सापकोटा लगायतका साथीहरु थिए । पिपलबोट अलि पर्तिर नयाँ रेष्टुराँ खुलेको थियो, त्यहाँ पसियो ।
खाइसकेपछि मैले पैसा तिर्न सय रुपैयाँको नोट झिकेँ । पसलेले भन्यो, ‘खुजुरा छैन ।’ हामीले जम्मा ५०/६० रुपैयाँको खाएका रै’छौं । पसलेले काम गर्ने केटोलाई पैसा खुजुरा पारेर ले भनेर अह्रायो । केटो बाहिर निस्कियो ।
हामी गफ गर्दै पर्खेर बस्यौं । पर्खिने क्रममा फेरि हामी खान थाल्यौं । तर, अलिक समयमा पनि केटो आएन । अहिले आउँछ छैन, भरे आउँछ छैन । त्यो केटोलाई रेष्टुराँमा त्यही दिन काम गर्न राखिएको रै’छ । सय रुपैयाँको नोट लिएर केटो भागेछ ।
रेष्टुराँको साहुसँग अलिअलि चिनेकै थियो । उधारो राखेर हामी बिदा भयौं । पछि गएर पैसा तिर्नुपर्यो ।


0 comments