'रसैको माया बस्यो ख्याल ख्याल गर्दैमा...' गीतका गायक रामकुमार राई रहेनन्
7:13 AMरमेश हतुवाली, काठमाडौँ, १८ माघ, पूर्वी नेपालका चर्चित लोकगायक रामकुमार राईको निधन भएको छ । कलेजो रोगबाट पीडित ४७ वर्षीय गायक राईको विराटनगरस्थित नोबेल अस्पतालमा सोमवार निधन भएको हो । मोरङ्ग बोरावन निवासी राई विगत पाँच महिनादेखि कलेजोको उपचार गराईरहेका थिए । गायक राईले २०४८ सालतिर गाएको 'रसैको माया बस्यो ख्याल ख्याल गर्दैमा...' बोलको गीत तत्कालीन यूवापूस्तामाझ सर्वाधिक लोकप्रिय रहेको थियो । धनकुटा जिल्लाको मुगा गाउँमा जन्मिएका गायक राई ४० को दशकतिर मोरङ्ग झरेका थिए । होचो कद, सरल एवम् मिलनसार स्वभावका राई नेपाली लोकभाखा र लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मान्यता राख्थे । गायक राईले 'बोराबाँध', 'रसैको माया बस्यो ख्याल ख्याल गर्दैमा', 'लाग्छ नि झल्को', 'झन झन मीठो', 'भुल्केको बजार' लगायतका गीत तथा एल्बम बजारमा ल्याएका थिए । पूर्वी नेपालको कोशी एफ.एम., सप्तकोशी एफ.एम. लगायतका स्थानीय रेडियो र रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट श्रोताको सर्वाधिक अनुरोधमा रामकुमार राईका गीतहरु बज्ने गरेको चर्चित गायक तुलसी पराजुली सम्झन्छन् । रामकुमार राई नेपाली लोकगायन क्षेत्रका बिर्सन नसकिने कलाकार भएको वरिष्ठ गायक तथा संगीतकार शम्भु राई बताउँछन् । गायक राईका एक छोरा र श्रीमती छन् ।
0 comments