पाँच वर्षभित्र सुरक्षित सिन्धुपाल्चोक बनाउने पहल सुरु
9:57 PM
८ माघ, सिन्धुपाल्चोक । भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट अतिप्रभावित सिन्धुपाल्चोकलाई आगामी पाँच वर्षभित्र सुरक्षित जिल्लाको रुपमा विकास गर्नका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले पहल सुरु गरेको छ । जिल्ला दैवी प्रकोप उद्वार समितिले पञ्चवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गर्दै जिल्लालाई सबै प्रकारका जोखिमबाट मुक्त गराउने अभियानको सुरुवात गरिएको छ ।
विनाशकारी भूकम्पपछि जिल्लामा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम संचालन गरिरहेका विभिन्न १६ संघसंस्थाको सहयोगमा जिल्ला दैवी प्रकोप उद्वार समितिले जिल्लाको विपद् जोखिम न्यूनीकरण रणनीति सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्वार समितिका संयोजक अन्तरबहादुर सिलवालले विपद् जोखिम न्यूनीकरण रणनीति सार्वजनिक गरेका थिए ।विभिन्न नौ आधारहरु तय गर्दै पाँच वर्षभित्र सिन्धुपाल्चोकलाई विपद् उत्थानशील जिल्लाका रुपमा स्थापित गर्ने रणनीति बनाइएको छ । संकटासन्नताको पहिचान गरी स्थानीय निकायमा प्राविधिक क्षमताको विकास गर्दै विपद् जोखिम न्यूनीकरणलाई जिल्ला विकास समिति तथा नगरपालिका र गाविसका विकास योजनामा मूलप्रवाहीकरण गरिने जिल्ला दैवी प्रकोप उद्वार समितिका फोकल पर्सन अनिरुद्र नेपालले जानकारी दिए ।
विपद् जोखिम न्यूनीकरण रणनीतिमा विपदसम्बन्धी ज्ञान तथा सीपमा अभिवृद्धिका लागि आपतकालीन पूर्वतयारी र क्षमता विकासका कार्यक्रम गरि सुरक्षित सिन्धुपाल्चोकको कल्पना गरिएको छ ।सहरी क्षेत्रमा बढ्दै गएको जोखिमलाई न्यून गर्न विपद जोखिम न्यूनीकरण र भवन निर्माण संहिता लागू गरि उत्थानशील सिन्धुपाल्चोक बनाइने रणनतिमा उल्लेख छ । ‘विपद् व्यवस्थापन रणनीति सिन्धुपाल्चोकलाई नमूना जिल्लाका रुपमा स्थापित गर्न आधार बन्नेछ’ सेभ द चिल्ड्रेनका विपद् व्यवस्थापन विज्ञ विष्णुप्रसाद खरेलले भने ।
जोखिम संवेदनशील भू-उपयोग योजना लागू गरि व्यवस्थित कृषि, स्वास्थ्य, खानेपानी, जीविकोपार्जनको लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए । ‘सुरक्षित र व्यवस्थित सिन्धुपाल्चोकका लागि पञ्चवषर्ीय रणनीति सार्वजनिक भएको छ’ प्रजिअ सिलवालले भने, ‘हामीले जिल्लाका सवै गाविस र नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति नै गठन गरिसकेका छौं ।’ विपद् जोखिम न्यूनीकरण गर्न जिल्लाका सबै गाविसमा विपद् व्यवस्थापन कोष नै खडा गरिएको सिलवालले जानकारी दिए ।
भूकम्पपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी) र चाइल्ड रीच नेपालले जिल्लामा आपतकालिन कार्य संचालन केन्द्रका लागि प्रीफ्याव भवन निर्माण गरी आवश्यक उपकरणहरु जडान गरेको छ । सेभ द चिल्ड्रेन, वल्र्ड भिजन, अक्सफार्म, केयर नेपाललगायतका संस्थाहरुले जिल्लामा आपतकालिन कार्य संचालन केन्द्रका लागि विभिन्न सामग्री तथा उपकरणहरु प्रदान गरेका छन् ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनीयर टंक गौतमले सुरक्षित भवन संरचना निर्माणबारे तल्लो स्तरका समुदायसम्म अभियान सञ्चालन सुरु भएको बताए । ‘अब निर्माण हुने निजी तथा अन्य भवनहरु समेत भूकम्प र अन्य जोखिमबाट सुरक्षित हुने गरी निर्माणका लागि हामीले अभियान सुरु गरेका छौ’ प्रमुख गौतमले भने ।
०७२ बैशाख १२ को विनाशकारी भूकम्पमा जिल्लाका ३५ सय ७० ले ज्यान गुमाएका थिए । १५ सय भन्दा बढी घाइते भएका थिए भने ९९ प्रतिशत घर संरचना ध्वस्त भएका थिए । भूकम्पीय सुरक्षा अपानाउन नसक्दा नै गत सालको भूकम्पमा जिल्लाले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको थियो । ‘घर संरचना निर्माणमा भूकम्पीय सुरक्षा अपनाइएको भए यति धेरै क्षति ब्यहोर्नुपर्ने थिएन’, विपद व्यवस्थापन विज्ञ विष्णुप्रसाद खरेलले भने ।
के हो आपतकालिन कार्यसंचालन केन्द्र ?
जुरे पहिरोपछि जिल्लामा संचालनमा ल्याइएको आपतकालिन कार्य संचालन केन्द्र (डीइओसी)का लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चाइल्ड रीच नेपालले पि्रफ्याव भवन निर्माण गरिदिएको छ । यतिबेला सोही भवनमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र छ ।
आपतकालिन कार्य संचालन केन्द्रले विपदसम्बन्धी सबै किसिमका सूचनाहरु संकलन गर्दछ । विपद्सम्बन्धी सूचनाहरु जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गर्दछ । विपदपछि संभावित क्षतिलाई रोक्नका लागि उपयुत्त रणनीति तयार गरि कार्यान्वायन गर्नु नै आपतकालीन कार्य संचालन केन्द्रको मुख्य कार्य हो । जिल्लाका सवै गाविस र नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन भइसकेको छ । डीइओसीका कर्मचारी स्थानीय विपद व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन्छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रससँग नियमित सम्पर्क रहन्छ । डीइओसीमा तीनै सुरक्षा निकाय र रेडक्रससँग सम्पर्क हुने एउटा साझा फ्रिक्वेन्सी नै छ । सुरक्षा निकाय र रेडक्रसलाई एक-एक वटा ‘ह्याण्डसेट’ दिइएको छ । त्यही ह्याण्डसेटबाट डीइओसीसँग उनीहरुले नियमित सम्पर्कमा रही सूचना आदानप्रदान गर्ने गरेका छन् ।
आपतकालिन कार्य संचालन केन्द्रमा दुई जना सूचना व्यवस्थापन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संचार शाखामा काम गरेको अनुभवप्राप्त प्रहरीहरु कार्यरत छन् । यूएनडीपी र युरोपीयन कमिसन मानवीय सहायता कार्यक्रम (ईको)को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेन र टुकी संघ सुनकोसीले दुई जना सूचना व्यवस्थापन अधिकृतको व्यवस्था गरेको छ । आपतकालिन कार्य संचालन केन्द्रमा पूर्व तयारी, खोज तथा उद्धार र राहतका सामग्री पनि रहनेछन् ।

0 comments